परराष्ट्र मन्त्री र युरोपेली राजदुतहरू बिच भेट, हवाई कालोसुचीवाट हटाउन नेपालको जोड
काठमाडौं, ११ जेठ । काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त भेटघाट गरेका छन् ।
यस अवसरमा मन्त्री खनालले युरोपेली संघको नेपालसँगको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा र जनता–जनता सम्बन्ध जस्ता क्षेत्रमा सहयोगलाई सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
सो क्रममा उनले कुशल सेवा वितरण र भ्रष्टाचार विरोधी बलियो अडानलाई सुशासनका दुई प्रमुख स्तम्भका रूपमा, तीव्र आर्थिक वृद्धिसँगै सरकारको प्रमुख प्राथमिकताहरू रहेको साझा गरेका छन् ।
मन्त्री खनालले लगानीलाई सहजीकरण गर्ने, निर्यात प्रतिस्पर्धात्मकता बढाउने र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चलिरहेको आर्थिक सुधारहरू पनि साझा गरेका हुन । उनले जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधिका क्षेत्रमा बढी लगानी गर्न आमन्त्रितसमेत गरेका छन् ।
नेपालले गरेको उल्लेखनीय प्रगति र सक्रिय रूपमा भइरहेका सुधारहरूलाई ध्यानमा राख्दै उनले युरोपेली संघका सदस्य राष्ट्रहरूलाई हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा नेपाललाई सहयोग गर्न उचित विचार गर्न अनुरोधसमेत गरेका थिए ।
भ्रमण प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै नेपालका लागि युरोपेली संघका राजदूत एच ई भेरोनिक लोरेन्जोले भ्रमणको उद्देश्य नयाँ सरकारलाई युरोपेली संघका सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्नुका साथै नेपाल र युरोपेली संघका सदस्य राष्ट्रहरूबीच संलग्नताका अवसरहरू खोजी गर्नु रहेको बताएका थिए ।
सो स अवसरमा ई–शासन र डिजिटलाइजेसनमा युरोपेली संघको विशेषज्ञता बाँडफाँड गर्ने कुरा पनि समावेश रहेको छ।


