खोटाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
खोटाङ । खोटाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडा धारिमका ३३ वर्षीय राजकुमार राई रहेका छन् ।
प्रहरीका अनुसार जेठ ८ गते राति करिब ११ः५५ बजे घरायसी विवादका क्रममा कुटपिट हुँदा उनकी २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि वास्तविकता बाहिर आउने जनाइएको छ ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा खोटाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


