मोरङको उर्लाबारीमा चार दिनदेखि हराएकी महिलाको शव फेला
उर्लाबारी, १२ जेठ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी एक महिलाको शव फेला परेको छ । सोमबार अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको हो ।
चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्थानीयका अनुसार शव फुलिएको अवस्थामा भेटिएको थियो । मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमानले गरेका हुन् ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सम्बन्धित अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


