टेण्डरबिनै लालबकैया दोहनः प्रहरी-जनप्रतिनिधिको सेटिङमा नदीमा दैनिक सयौं ट्र्याक्टर

सञ्जय मिश्रा/रौतहट, १४ जेठ । रौतहटको पश्चिमी क्षेत्रमा पर्ने लालबकैया नदीमा टेण्डर नै नभएको अवस्थामा पनि प्रहरी र केही जनप्रतिनिधिको मिलेमतोमा व्यापक रूपमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको आरोप सार्वजनिक भएको छ।

 

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा उत्खनन तथा ढुवानी गरिरहेको स्थानीयको दाबी छ।

 

दुवै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नदीको टेण्डर आह्वान गर्न सकेका छैनन्। फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव नदी ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि पद गुमाएका थिए। त्यसपछि कार्यवाहक मेयर अम्बेया खातुनले पुनः टेण्डर प्रक्रिया अघि बढाउन सकेकी छैनन्।

 

उता गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले प्रक्रिया झन्झटिलो भएको भन्दै पछिल्ला दुई वर्षदेखि नदीको टेण्डर आह्वान नगरेको स्थानीयको भनाइ छ। टेण्डर नभएपछि नदीजन्य पदार्थ उत्खनन पूर्ण रूपमा बन्द हुनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा भने उल्टै अनियन्त्रित दोहन भइरहेको छ।

 

स्थानीयका अनुसार गुजराको जंगलसहिया, सिमरी तथा फतुवा विजयपुरको राँगी, बोटावा लगायतका घाटमा बिहानैदेखि बेलुकासम्म ट्र्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन र ढुवानी भइरहेको छ।

 

समाचार स्रोतका अनुसार नदीबाट सामग्री उठाउने एक ट्र्याक्टरले इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक चार हजार रुपैयाँ बुझाउने गरेका छन्। त्यसबाहेक प्रहरी चौकी, सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगर पोखरभिन्डा र प्रहरी चौकी छेदीचोकमा मासिक दुई–दुई हजार रुपैयाँ बुझाएर निर्बाध रूपमा ढुवानी हुने गरेको आरोप छ।

 

स्थानीय समाजसेवी मैनुदिन अन्सारीका अनुसार “मासिक रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै ट्र्याक्टर ओहोरदोहोर गर्दा पनि कुनै रोकतोक हुँदैन।”

 

उनले केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्र्याक्टर र मजदुर उत्खननमा प्रयोग गरिरहेको तथा केहीले व्यापारीसँग रकम लिएर मौन समर्थन गरेको आरोप समेत लगाएका छन्।

 

नदीजन्य पदार्थको अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिको भए पनि सभापति राम अयोध्या प्रसाद यादवले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।

 

स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित मिलेमतोका कारण लालबकैया नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ। तस्कर तथा व्यापारीहरूले विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध स्टकसमेत गरेका छन्।

 

यता रौतहटको गढीमाई नगरपालिका समनपुरस्थित बागमती पुल पनि अवैध उत्खनन र अत्यधिक भार बोकेका टिपरका कारण जोखिममा परेको भन्दै स्थानीयस्तरमा चिन्ता बढेको छ। बागमती नदी क्षेत्रमा मापदण्डविपरीत उत्खनन, नदी किनारमै ठूलो परिमाणमा बालुवा–गिटी भण्डारण तथा पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी सञ्चालन भइरहेको स्थानीयको आरोप छ।

 

उनीहरूले पुलको तत्काल प्राविधिक परीक्षण, अवैध उत्खनन नियन्त्रण तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।

स्थानीयका अनुसार अत्यधिक भार बोकेका टिपरका कारण पुलमा क्षति पुग्नुका साथै सडक बिग्रिने र दुर्घटनाको जोखिम बढ्दै गएको छ। बागमती नदीको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन, खेतीपाती र जनजीवनमै असर पर्न थालेको भन्दै स्थानीयले तत्काल नियन्त्रणको माग गरेका छन्।

 

रौतहटका सिडियो दिनेश सागर भुषाल न्युज कारखानासँग कुरा गर्दै नदीहरूको अनुगमन निरीक्षण गर्ने, कार्वाही गर्ने अधिकार जिल्ला समन्वय समितिको रहेको बताएका छन्।

 

जिल्लाको पूर्विभेग बागमती, चाँदी, पश्चिम लालबकैया नदीमा अबैध उत्खनन तथा नदीजन्य पदार्थको ढुवानी बारे गुनासोहरु आईरहेको छ।

 

त्यसबारे समन्वय समितिका सभापति संग छलफल भएको छ केही दिन भित्रै स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको सिडियो भुषालले जानकारी दिएका छन्।

 

नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले नदीजन्य पदार्थको अबैध उत्खनन र ढुवानी नियन्त्रण गर्न जिल्लाका एसपीलाई तत्काल निर्देशन दिएको र घटनाको छानबिन गरी दोषि ठहर हुने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।