मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा एक युवक पक्राउ
काठमाडौं । मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा धार्मिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको जनाएको हो।
प्रहरीका अनुसार हाल काठमाडौं महानगरपालिका–८ टोखामा बस्दै आएका परियारले सामाजिक सञ्जालमा ‘मठ मन्दिर आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले धार्मिक भावना आहत तथा सामाजिक सद्भाव भड्काउने देखिएकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने गतिविधि नगर्न सबैलाई आग्रह समेत गरेको छ।


