एक्लिँदै सहरका ज्येष्ठ नागरिक : वडाको पहलमा तीर्थाटन गराउँदा थपियो आत्मबल

काठमाडौं । बाहिरबाट हेर्दा काठमाडौं सहरको जीवन जति लोभलाग्दो देखिन्छ, भित्रको सामाजिक अन्तरघुलन र आत्मीयता त्यत्तिकै उकुसमुकुसपूर्ण छ। सहरमा मान्छेको सङ्ख्या मात्र धेरै भए पनि वास्तवमा हरेक मान्छेले एक्लो जीवन बिताइरहेका छन्। 

सहर र घरभित्र एक्लिँदै गएका यस्तै ज्येष्ठ नागरिकहरूको मन बहलाउन र उनीहरूलाई सामाजिकीकरण गराउन काठमाडौं महानगरपालिका वडा नं. ११ कार्यालयले विशेष पहल गरेको छ। 

वडा कार्यालयले आफ्नो वडाका ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकहरूलाई काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शनका लागि तीर्थाटन गराएको छ। गाडीमा आफूजस्तै पाका उमेरका साथीहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा र सामूहिक रूपमा खानपान गर्दा सधैँ मलिन देखिने ज्येष्ठ नागरिकहरूको अनुहारमा बेग्लै उज्यालो र ऊर्जा छाएको देखिन्थ्यो।

तीर्थाटनका क्रममा ज्येष्ठ नागरिकहरूले आफ्ना सुख-दुःख साटासाट गर्दै यस्ता कार्यक्रमले जीवन जिउने नयाँ ऊर्जा दिएको बताएका छन्। यात्रामा सहोदर दाजुभाइ ८७ वर्षीय हीरामान डंगोल र ८५ वर्षीय मचाम डंगोल एकैसाथ सहभागी थिए। उनीहरूले सहरमा आफू मात्र एक्लो नभएर धेरै जना त्यस्तै अवस्थामा रहेको देख्न पाउँदा र एकापसमा भेटघाट गर्न पाउँदा उमेर नै बढेको जस्तो महसुस भएको अनुभव सुनाए।

अरूको अवस्था र आत्मबल देख्दा आफूलाई पनि बाँच्ने प्रेरणा मिलेको उनीहरूको भनाइ थियो। वन कार्यालयको उपमहानिर्देशक पदबाट अवकाश पाएका ७७ वर्षीय कन्हैयाराज श्रेष्ठले पदमा हुँदा मान्छे धरातलमा नहुने स्मरण गर्दै पुराना कुरा अहिले निरर्थक लाग्ने बताए। वडाले यस्तो कार्यक्रम आयोजना गरेर आफू जस्ता व्यक्तिलाई सामाजिकीकरण गराएकाले सामाजिक दूरी घटेको र जीवनप्रति ऊर्जा थपिएको उनले उल्लेख गरे।

यात्रामा सहभागी ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खाली, ७० वर्षीया इन्द्रलक्ष्मी महर्जन, ७१ वर्षीया मीरा डंगोल महर्जन र ७५ वर्षीया हिरामाइला महर्जनले सन्तोषसँग बाँच्न धनले मात्र नपुग्ने र समाज एवं आफूजस्तै साथीभाइको सामीप्यता चाहिने बताए। 

त्यस्तै ७४ वर्षीय गोपाल श्रेष्ठले ‘मोनोटोनस’ अर्थात् एकरसको जीवनबाट केही समयका लागि भए पनि मुक्ति पाउँदा मन हलुका भएको र पीडा कम भएको सुनाए। ज्येष्ठ नागरिकहरूले महानगरपालिकासँग यस्ता घुमाउने कार्यक्रम सधैँ चलाउन र बुढेशकालमा औषधि किन्न जाने तथा रोग जाँच्न अस्पतालसम्म लगिदिने भरपर्दो व्यवस्था मिलाइदिन मागसमेत गरेका छन्।

ज्येष्ठ नागरिकहरूसँग अन्तरसंवाद गरिरहँदा महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार आफैँ भावुक बने। कुरा गर्दागर्दै आँखा टलपल गराउनुभएका ७६ वर्षीय वडाध्यक्ष तण्डुकारले घरमा ज्येष्ठ नागरिकहरू एक्लो जीवन बाँचिरहेको र उनीहरूको चाहना वा रुचि सोध्ने कोही नभएको पीडा व्यक्त गरे। कोही परिवार भएर पनि एक्ला भएको र कोही श्रीमती तथा छोराछोरी कोही नभएर आफू जस्तै एक्लो जीवन बिताउन बाध्य भएको भन्दै उनी भक्कानिए। तण्डुकार पहिलो पटक वि.सं. २०४९ सालमा वडाध्यक्ष निर्वाचित भएका थिए भने हाल २०७४ र २०७९ को निर्वाचनबाट लगातार वडाध्यक्षका रूपमा कार्यरत छन्।

वडा कार्यालयका अनुसार वडा नं. ११ मा करिब ८५० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन्। यस वर्ष १५१ जनालाई पोषण भत्ताबापत जनही १२ हजार रुपैयाँ प्रदान गरिएको छ, जुन सङ्ख्या गत वर्ष १८१ थियो। पोषण भत्ता पाउनेहरूमा ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् भने १५ जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना नागरिक रहेका छन्। 

अन्य पेन्सन वा सेवाबाट सुविधा लिने भएकाले धेरै ज्येष्ठ नागरिक अझै पनि वडाको प्रत्यक्ष सम्पर्कमा छैनन् र उनीहरू कसरी जीवन बिताइरहेका छन् भन्ने स्पष्ट अभिलेख छैन। वडा कार्यालयले अब त्यस्ता छुटेका ज्येष्ठ नागरिकहरूलाई समेत खोजी गरी विभिन्न सामाजिक क्रियाकलापमा आबद्ध गराउने र उनीहरूको मानसिक पीडा कम गर्ने ठोस कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।