झापामा शंकास्पद अवस्थामा महिलाको शवको पहिचान खुलेन,प्रहरीले सार्बजनिक गर्यो बायाँ हातमा रहेको ट्याटु सहितको तस्वीर
झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवाखोलाको पुलमुनि बगेको पानीमा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ १६ गते बिहान करिब ११ बजे पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव फेला परेको हो। शव सेतो प्लास्टिकको बोराभित्र पोको पारिएको तथा शंकास्पद अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतकको नाम, थर, वतन हालसम्म खुल्न सकेको छैन। शव करिब दुईदेखि तीन दिनअघि देखि पानीमा रहेको अनुमान गरिएको छ। महिलाले रातो भेष्ट लगाएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। शवको पहिचान खुलाउन र घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान हुन नसकेको अवस्थामा आफन्त, अभिभावक, साथीभाइ वा चिनजानका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय अथवा प्रहरीको सम्पर्क नम्बर १००, ९८५२६९०६९०, ९८५२६९००३१ र ९८५२६९०२३२ मा सम्पर्क गरी अनुसन्धानमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ।
प्रहरीले मृतकको बायाँ हातमा रहेको ट्याटुसहितको तस्वीरसमेत सार्वजनिक गरेको छ।


