उपत्यकामा मादेनहरूको समिति पुनर्गठन, राम मादेन सम्मानित
काठमाडौँ । मादेन फेन्दुवा जनकल्याण केन्द्र उपत्यका समितिको पुनर्गठन तथा सम्मान कार्यक्रम शनिबार काठमाडौँको अनामनगरमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सन्तोष मादेनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा शिव मादेन, सचिवमा देशकुमार मादेन, सहसचिवमा मोहन मादेन र कोषाध्यक्षमा गणेश मादेन चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कुमार मादेन, डा. अस्मिता मादेन, सिजी पिङ (चन्द्र) मादेन, भुपेन मादेन, सुरेन्द्र मादेन तथा चलचित्र अभिनेता इअन मादेन चयन भएका छन्।
समितिका सल्लाहकारमा भूपू ब्रिटिस सैनिक तथा ज्येष्ठ नागरिक दुर्गा मादेन र अधिवक्ता एवं प्राध्यापक दिलीप मादेन निर्विरोध चयन भएका छन्। साथै, पुरानो कार्यसमितिका सदस्यहरू अनु मादेन (हाल अमेरिका), प्रीतम मादेन, प्रेम मादेन र उत्तम मादेनलाई यथावत् राखिएको जनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथि मादेन परिवारका केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख राम मादेनलाई नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी प्रमुखमा नियुक्त भएको अवसरमा ताम्रपत्रसहित सम्मान गरिएको थियो।
समारोहमा साहित्यकार चन्द्र मादेन आन्छन, डा. अस्मिता मादेन, व्यवसायी तारा श्रेङ्ग मादेन तथा पहिचानवादी अभियन्ता एवं समाजसेवी चन्द्र मादेनले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सहसचिव तथा कलाकार मोहन मादेनले गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सन्तोष मादेनले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी केही महिनापछि सामूहिक साकमुरा वादेम्बा (गाली–श्राप बगाउने) कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए।
यस अवसरमा मादेन समुदायको ऐतिहासिक थातथलो लिम्बुवान क्षेत्रको ताप्लेजुङस्थित फुङलिङ–९, हाङदेवामा आमा पनुपन्ज्याङमा छोरा र उक्केन्द हाङको विशाल प्रतिमासहित करिब ४ करोड रुपैयाँभन्दा बढी लागतमा मादेन गणी (माङ्गेना योक) संग्रहालय निर्माणाधीन रहेको जानकारी पनि गराइएको थियो।




