रौतहटमा विद्युत् कर्मचारीमाथि लुटपाट, मोटरसाइकल लिएर फरार
सञ्जय मिश्रा /रौतहट, १८ जेठ। रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित झाझ पुलमा आइतबार राति एक विद्युत् कर्मचारीमाथि लुटपाट भएको छ। अज्ञात समूहले उनको मोटरसाइकल रोकी लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राजदेवी नगरपालिका–४ निवासी पंकजकुमार यादवको ना ३५ प २९३२ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकल राति करिब ९ बजे लुटिएको हो। यादव गंगापिपरा फ्युज शाखामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हुन्। उनी ड्युटी सकेर घर फर्किरहेका बेला झाझ पुल क्षेत्रमा मोटरसाइकल लुटिएको बताइएको छ।
घटनाबारे राति १० बजेर २० मिनेटमा इलाका प्रहरी कार्यालय गंगापिपरामा सूचना प्राप्त भएपछि सई जयप्रकाश पाण्डेको नेतृत्वमा टोली घटनास्थलमा परिचालन गरिएको थियो। प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरू तथा लुटिएको मोटरसाइकलको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै मोटरसाइकल र संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले भने गौर–पिपरा–समनपुर सडकखण्ड अत्यन्त व्यस्त मार्ग भए पनि रातिको समयमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा आपराधिक गतिविधि बढ्दै गएको गुनासो गरेका छन्। झाझ पुल क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरी २४ घण्टा सुरक्षा व्यवस्था गर्नुपर्ने माग पटक–पटक उठे पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ।
प्रहरीले घटनास्थल इलाका प्रहरी कार्यालय गंगापिपराबाट करिब ३ किलोमिटर दक्षिणतर्फ रहेको जनाउँदै घटनाको अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ।


