सामुदायिक वन उपभोक्ता महासंघको ३१औँ स्थापना दिवस धनकुटामा सम्पन्न
धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको ३१औँ स्थापना दिवस तथा सामुदायिक वन सचेतना कार्यक्रम धनकुटामा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ को विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा वनप्रति जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सामुदायिक वनले वातावरण संरक्षण, जैविक विविधताको संवर्द्धन तथा स्थानीय समुदायको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए। साथै वन क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।
आयोजकका अनुसार स्थापना दिवसको अवसरमा आयोजित सचेतना कार्यक्रमले सामुदायिक वनप्रति नागरिकको जिम्मेवारीबोध बढाउन तथा वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


