मोरङमा ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर, जेठ २० – मोरङ प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ २० गते बिहान करिब ७ बजे सुनवर्षी नगरपालिका–१ भित्री सडक खण्डमा अस्थायी प्रहरी पोष्ट केचनाबाट खटिएको प्रहरी टोलीले शंकास्पद मोटरसाइकल जाँच गर्ने क्रममा एक जनालाई नियन्त्रणमा लिएको हो।
पश्चिमतर्फबाट आउँदै गरेको BR37AH2831 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक सुनवर्षी नगरपालिका–१ का २६ वर्षीय रुसम मियाँको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो देखिने १५ दशमलव ३७० ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थसहित मियाँलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेली पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


