३० लाखको क्रेटा गाडी बरामद, एकै दिन २६ प्रतिवादी पक्राउ
सञ्जय मिश्रा/रौतहट, २० जेठ । रौतहट प्रहरीले ३० लाख रुपैयाँ मूल्य बराबरको शंकास्पद क्रेटा गाडी बरामद गर्नुका साथै एकै दिनमा विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मंगलबार जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका २६ जना प्रतिवादी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरू चेक अनादर लगायत विभिन्न मुद्दामा जिल्ला अदालत गौरबाट दोषी ठहर भई दण्ड–सजाय तोकिएपछि फरार रहँदै आएका थिए। उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट २२ हजार ८२० रुपैयाँ राजस्वसमेत असुल गरिएको छ।
यसैबीच गौर नगरपालिका–३ स्थित जनक बोर्डिङ स्कुल नजिकको गल्लीमा तीन–चार दिनदेखि बेवारिसे अवस्थामा रहेको बीआर–०१डीटी–९५५६ नम्बरको क्रेटा गाडी प्रहरीले बरामद गरेको छ।
प्रहरीले जनाएको अनुसार गत जेठ १२ गते राति नियन्त्रणमा लिइएको उक्त गाडीको चेसिस नम्बर शंकास्पद ९फेक० देखिएको छ भने भन्सार प्रज्ञापनसमेत फेला परेको छैन। बरामदपछि गरिएको अनुसन्धानका क्रममा एकासाटासम्म गाडी धनी सम्पर्कमा नआएपछि हिजो मंगलवार ३० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ, तस्करी नियन्त्रण तथा गैरकानुनी गतिविधिविरुद्धको अभियानलाई तीव्रता दिएको देखिन्छ। एकै दिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ पर्नु र शंकास्पद सवारीसाधन बरामद हुनु प्रहरीले अपराध नियन्त्रण र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेको संकेतका रूपमा हेरिएको छ।
प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ।


