भोजपुर र झापाका गरि दुई जना ५ किलोभन्दा बढी गाँजासहित बिर्तामोडबाट पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एक डेरा कोठाबाट प्रहरीले ५ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जेठ १९ गते साँझ करिब ७ बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भानुभक्त उप्रेतीको घरमा डेरा गरी बस्दै आएका व्यक्तिहरूको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा जेब्रा झोलाभित्र प्लास्टिकका चार वटा पोकामा राखिएको ५ किलो ९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३० वर्षीय बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का करिब २० वर्षीय सागर राई रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


