सुनसरीमा जुवा खेल्दै गरेका ११ जना पक्राउ, नगद र तास बरामद
इटहरी । सुनसरी प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिका–८ स्थित एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको जनाएको छ।
प्रहरीका अनुसार राति करिब १२ः२० बजे गरिएको कारबाहीमा जुवा खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट नगद रकम, तीन बुक तास, विभिन्न मोबाइल फोन, मोटरसाइकल तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्रीमा नगद करिब ७ लाख ९ हजार रुपैयाँ, तीन बुक तास, विभिन्न कम्पनीका मोबाइल फोन, मोटरसाइकल र केही सुनका गरगहना समेत रहेका छन्।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


