मोरङको उर्लाबारीका विद्यालय अब आइतबार पनि खुल्ने
मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले आगामी असार १ गतेदेखि आइतबार पनि सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचनामा विद्यार्थीहरूमा मोबाइल फोन, टेलिभिजन लगायतका डिजिटल उपकरणको अत्यधिक प्रयोग बढ्दै गएको र यसले मानसिक तथा व्यवहारिक पक्षमा नकारात्मक प्रभाव पार्न थालेको उल्लेख गरिएको छ।
सोही अवस्थालाई मध्यनजर गर्दै आइतबार नियमित पठनपाठन नगरी विभिन्न अतिरिक्त तथा सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार आइतबार विद्यालयमा खेलकुद, साहित्यिक, सांस्कृतिक, नेतृत्व विकास, जीवनोपयोगी सीप तथा अन्य रचनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ। यसबाट विद्यार्थीहरूको समयको सदुपयोग हुनुका साथै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
उक्त व्यवस्था सामुदायिक तथा संस्थागत दुवै प्रकारका विद्यालयमा लागू हुने नगरपालिकाले जनाएको छ।


