छोराको नाममा सम्पत्ति पास गरे पछि वृद्ध दम्पती संकटमा

सञ्जय मिश्रा/रौतहट, २१ जेठ । जीवनभरको पसिनाले जोडेको सम्पत्ति आफ्नै सन्तानको नाममा नामसारी गरेपछि बुढेसकालमा सहाराविहीन बनेका एक वृद्ध दम्पतीले न्यायको खोजीमा गाउँदेखि सदरमुकामसम्म धाउनुपरेको छ। रौतहटको राजपुर नगरपालिका–८ हजमिनियामा देखिएको यो घटना पारिवारिक सम्बन्ध र वृद्ध अभिभावकको अवस्थाबारे गम्भीर प्रश्न उठाउने बनेको छ।

 

हजमिनिया गाउँका हफि महम्मद अन्सारी र उनकी पत्नी रोजैदा खातुनले आफ्नो एक छोरा र दुई छोरीमध्ये  छोरा शाह महम्मद अन्सारीलाई विश्वासका आधारमा घरसहित करिब ९ धुर जग्गा दुई चरणमा नामसारी गरिदिएका थिए। तर, सम्पत्ति आफ्नो नाममा भएपछि छोरा परिवारबाट टाढिँदै गएको, हाल ससुराली पक्षको बसोबास रहेको गढीमाई नगरपालिका–गम्हरियामा बस्दै आएको तथा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको उनीहरूको भनाइ छ।

 

वृद्ध दम्पतीका अनुसार बुहारी र नातिनातिना पनि माइतीमै बस्दै आएका छन्। अहिले आफूहरू बस्दै आएको घरसहित बाँकी रहेको जग्गा समेत बिक्री गर्ने तयारी भइरहेको जानकारी पाएपछि उनीहरू थप त्रसित बनेका छन्।

“बुढेसकालमा सहारा बन्नुपर्ने छोरा नै सम्पत्ति लिएर टाढिएपछि हामी न्याय खोज्दै भौतारिन बाध्य भएका छौं,” अन्सारी दम्पतीले पीडा पोख्दै भने।

शारीरिक रूपमा कमजोर भइसकेका हफि महम्मद अन्सारीले युवावस्थामा गरेको मेहनत सम्झिँदै अहिले जीवन अत्यन्तै कठिन बनेको बताए। “पहिले शरीरले साथ दिन्थ्यो, काम गरेर घर चलाउँथें। अहिले केही गर्न सक्दिनँ, खान–लाउनकै समस्या छ,” उनले भने।

 

उनीहरूको जेठी छोरी भारतको बैरगनिया–स्थित सिन्दुरियामा बस्दै आएकी छन्। छोरीले कहिलेकाहीँ पठाउने सहयोगकै भरमा वृद्ध दम्पती र २० वर्षीया कान्छी छोरीको गुजारा चलिरहेको छ । आर्थिक अभावका कारण कान्छी छोरीको विवाहसमेत गर्न नसकेको उनीहरूको पीडा झन् गहिरिएको छ।

न्यायको आशामा पत्रकारमार्फत आवाज उठाउन गौर पुगेका अन्सारी दम्पतीले सम्बन्धित निकायसम्म आफ्नो समस्या पुर्‍याइदिन आग्रह गरेका छन्। “हाम्रो आवाज माथिसम्म पुगोस्, न्याय मिलोस्। बुढेसकालमा घरबारविहीन हुने अवस्था नआओस्,” उनीहरूको माग छ।

 

चर्को गर्मीमा पनि कार्यालय–कार्यालय धाउनुपर्दा आफ्नो अवस्था झन् कष्टकर बनेको उनीहरू बताउँछन्। “अरू शीतल ठाउँमा छन्, हामी न्याय खोज्दै भौतारिरहेका छौं,” उनीहरूको भनाइ छ।

 

यो घटनाले सम्पत्तिको नामसारीपछि पारिवारिक सम्बन्धमा देखिने दरार र वृद्ध आमाबुबाको सुरक्षा तथा अधिकारप्रति राज्य तथा समाजको ध्यान आवश्यक रहेको संकेत गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।