वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने दुई संस्थालाई सम्मान गर्दै हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

शुक्रबार महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवद्र्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।

सम्मान कार्यक्रममा बोल्दै मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनको भनाइ थियो ।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।

यसअघि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो । वातावरणमैत्री जीवनशैली, फोहोर व्यवस्थापन, वृक्षारोपण र जलवायु सचेतनासम्बन्धी सन्देशसहित निकालिएको प्रभातफेरीले नगरवासीको ध्यान वातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो ।

कार्यक्रममा विराटनगरस्थित सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए । वातावरण संरक्षणमा सक्रिय पूजा विश्वासले दुवै कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

विराटनगर महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण र दिगो शहरी विकासलाई आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । महानगरको यो पहलले वातावरणीय उत्तरदायित्वप्रति नागरिक सहभागिता बढाउनुका साथै हरित र स्वच्छ विराटनगर निर्माण अभियानलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।