खोटाङमा लागूऔषध नियन्त्रण र जातीय भेदभावविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला प्रशासन कार्यालय खोटाङको संयुक्त आयोजनामा लागूऔषध रोकथाम/नियन्त्रण तथा जातीय भेदभाव एवं छुवाछुतविरुद्धको कानुनी व्यवस्था सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार श्री त्रिभुवन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेलको अध्यक्षता रहेको थियो भने विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्री प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले लागूऔषध दुव्र्यसनका असर, यसको रोकथाम तथा नियन्त्रणका उपायबारे जानकारी गराएका थिए। साथै, जातीय भेदभाव तथा छुवाछुतविरुद्ध विद्यमान कानुनी व्यवस्था, नागरिक अधिकार र कानुन उल्लंघन गर्दा हुने सजायका विषयमा समेत सहभागीहरूलाई सचेत गराइएको थियो।
विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा सम्बन्धित विषयका पर्चा–पम्प्लेट समेत वितरण गरिएको आयोजकले जनाएको छ।
समाजमा बढ्दो लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न तथा जातीय विभेदमुक्त समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।


