एआइको प्रयोग गरेर प्रहरीको दुष्प्रचार गर्ने व्यक्ति पक्राउ
सिन्धुली, जेठ २२ । सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (AI) प्रयोग गरी ट्राफिक प्रहरीको फोटो तथा भिडियो सम्पादन गरेर दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–७ स्थित बीपी राजमार्गको गाईघाट पुल नजिक सडक खण्डमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको भिडियो तथा फोटो AI (च्याटजीपीटी) को प्रयोगबाट सम्पादन गरी फेसबुकमा पोस्ट गरेर प्रहरीको बदनाम गर्ने कार्यमा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका–१ निवासी २२ वर्षीय हर्कबहादुर स्याङतानलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनलाई जेठ १९ गते पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा उक्त कार्यमा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामाजिक सञ्जालमा प्रकाशित सामग्री, फोटो तथा भिडियोको यथार्थता नबुझी टिप्पणी, शेयर वा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै कुनै पनि सामग्रीलाई आधार बनाएर समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्य पुष्टि गर्नसमेत अनुरोध गरेको छ।
प्रहरीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न र भ्रामक सामग्रीको प्रसारबाट बच्न सबैलाई सचेत रहन आग्रह गरेको छ।


