दमककी रमा तिवारी हत्या प्रकरण : एक जना पक्राउ
झापा । झापाको दमकमा मृत अवस्थामा फेला परेकी रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति मृतक रमाका प्रेमी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका युवकलाई सोमबार नियन्त्रणमा लिइएको हो। यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनको नाम र विस्तृत परिचय सार्वजनिक गरिएको छैन।
रमाको शव केही दिनअघि दमकस्थित रतुवा खोलमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट हत्या योजनाबद्ध रूपमा गरिएको र शव बोरामा हालेर रतुवा पुलबाट खोलामा फालिएको देखिएको प्रहरीले जनाएको छ।
मृतककी आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति रमालाई उनका प्रेमीले फोन गरेर भेट्न बोलाएका थिए। त्यसपछि आमा–बुबासँग अनुमति लिएर घरबाट निस्किएकी रमा सम्पर्कविहीन बनेकी थिइन्।
परिवारका अनुसार रमा र पक्राउ परेका युवकबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। युवक लागुऔषध दुर्व्यसनबाट मुक्त गराउन सुधार केन्द्रमा राखिएको र जेठ १३ गते साँझ मात्रै तोकिएको अवधि पूरा गरेर बाहिर निस्किएको बताइएको छ। सुधार केन्द्रबाट निस्किएलगत्तै उनले रमासँग सम्पर्क गरी भेट्न बोलाएको परिवारको भनाइ छ।
घरबाट निस्किएको पाँच दिनपछि रतुवा खोलमा फेला परेको शव रमाकै भएको उनकी आमा मुना तिवारीले पहिचान गरेकी थिइन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


