सुनसरीको भण्टाबारीमा दुर्घटना : प्रहरी जवान पौडेलको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवान रन्दिप पौडेल को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब १० बजे स ११ प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते भएका ३२ वर्षीय पौडेललाई उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो। तर चिकित्सकले राति १०ः२० बजे मृत घोषणा गरेका थिए।
उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका पौडेल संखुवासभास्थित प्रहरी चौकी चेपुवा लिंगम मा दरबन्दी रहे पनि हाल प्रहरी चौकी कोशी ब्यारेज मा कार्यरत थिए। कार्यालयको कामका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
दुर्घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय रजाक मियाँ (पुने खान) फरार रहेका छन्। प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेको र चालकले सडकमा पर्याप्त ध्यान नदिँदा दुर्घटना भएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


