झापामा १५ फिट लामो अजिंगर फेला
झापा — झापाको मेचीनगर–४ स्थित माता चोक नजिकको भित्री पैदल मार्ग छेउमा करिब १५ फिट लामो अजिंगर सर्प फेला परेको छ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे स्थानीय बासिन्दाले सर्प देखेपछि प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अजिंगरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिई प्रहरी चौकी बाहुनडाँगीमा राखेको छ।
अजिंगरको उचित व्यवस्थापनका लागि प्रहरीले सम्बन्धित वन कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ। वन कार्यालयको टोलीले सर्पलाई उद्धार गरी प्राकृतिक वासस्थान वा सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको बताइएको छ।


