दमकमा आँप बोकेको पिकअप दुर्घटना
झापा । झापाको दमकमा आइतबार बिहान आँप बोकेको पिकअप दुर्घटनामा परेको छ। सप्तरीबाट आँप लिएर बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश ०२–००२ च ७६५० नम्बरको पिकअप बिहान करिब ३ बजे दमक चोक क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
पिकअप चालकका अनुसार विपरीत दिशाबाट आएको सवारीसाधनले फ्लास लाइट बाल्दा साइड दिने क्रममा अन्धकारका कारण सडकको अवस्था स्पष्ट नदेखिएपछि सवारी दमक चोकस्थित मंगलदीप मार्केटको पूर्वपट्टि महेन्द्र राजमार्गको बायाँतर्फ रहेको डम्पिङ साइडको थुप्रोमा चढेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा पिकअपमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। चालक तथा सहचालक सुरक्षित रहेको र थप विवरण सम्बन्धित निकायबाट आउन बाँकी रहेको छ।


