विराटनगरबाट तास खेलिरहेका १२ जना पक्राउ, २ लाख ७६ हजार बढी नगद बरामद
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथटोलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जेठ २५ गते राति करिब १०ः३० बजे महेश अग्रवालको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट नेपाली नगद रु. २ लाख ७६ हजार ४ सय, तासका २२ बुक, १४ थान मोबाइल र ३ वटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये विराटनगर, कटहरी, बुढीगंगा, ग्रामथान तथा उदयपुरका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


