मोरङको रतुवामाईमा सरकारी गाडी दुर्घटना
मोरङ, जेठ ३० । मोरङको रतुवामाई नगरपालिका–९ भौडाहामा शनिबार एक सरकारी गाडी दुर्घटनामा परेको छ।
प्रदेश १–०४–००१ झ ००४४ नम्बरको उक्त गाडी मोरङस्थित पूर्वाधार विकास कार्यालयको रहेको बताइएको छ। दुर्घटनाको समयमा गाडीमा दुई जना सवार रहेका थिए।
स्थानीयका अनुसार फिल्ड निरीक्षणका लागि भौडाहा पुगेको गाडी दुर्घटनामा परेको हो। दुर्घटनापछि गाडीमा सवार दुवै जना सकुशल रहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण संकलन तथा अनुसन्धान भइरहेको छ।


