उत्कृष्ट कर्मचारी र जेहेन्दार विद्यार्थीलाई जन्तेढुङ्गा गाउँपालिकाको सम्मान
खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका ले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर गाउँपालिकाले उनीहरूलाई पुरस्कृत गरेको हो।
गाउँपालिकाले कार्यसम्पादनका आधारमा तीन जना कर्मचारीलाई ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गरेको छ। पुरस्कृत हुनेहरूमा गाउँपालिका कार्यालय चिसापानीमा कार्यरत अधिकृत स्तर छैटौँ भीम मगर, वडा नं. २ बोपुङकी वडा सचिव जिना राई तथा कार्यालय सहयोगी दिनेश विष्ट रहेका छन्। उनीहरूलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले विद्यालय शिक्षा परीक्षा (एसइई) र जिल्ला स्तरीय परीक्षा (डीएलइ) मा उत्कृष्ट नतिजा ल्याउने पाँच जना विद्यार्थीलाई पनि सम्मान गरेको छ।
एसइईतर्फ ३.५१ जिपिए ल्याउने सिंहदेवी माध्यमिक विद्यालयकी दीपशिखा राई तथा ३.३२ जिपिए ल्याउने सोही विद्यालयका सुनिल कटुवाल पुरस्कृत भएका छन्। यस्तै, डिएलइ (कक्षा ८) तर्फ ३.६२ जिपिए ल्याउने गृष्मा राई, ३.६ जिपिए ल्याउने अविनाश राई तथा चिसापानी नमुना माध्यमिक विद्यालयका संयोग पोखरेललाई पनि जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष अरुणादेवी राई ले उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने संस्कृतिले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताइन्। उनका अनुसार कर्मचारीको मनोबल अभिवृद्धि गर्न र विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न गाउँपालिकाले हरेक वर्ष पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनामा गाउँपालिकाको समग्र भौतिक प्रगति ७५ प्रतिशत तथा आर्थिक प्रगति ६४ प्रतिशत पुगेको छ।


