संखुवासभामा भरुवा बन्दुक सहित एक जना पक्राउ
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्रीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बिना इजाजतपत्र भरुवा बन्दुक लुकाइछिपाइ राखी प्रयोग गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३६ वर्षीय विनय मगरको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले भरुवा बन्दुकको नाल एक थान, सिसाजस्तो देखिने धातुको छर्रा, बारुदलगायत बन्दुकमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको जनाएको छ। उक्त सामग्री घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको कागतीको झाडीमा लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
बरामद सामग्रीसहित विनय मगरलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला अदालत संखुवासभाबाट पहिलो पटक सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।


