सुनसरीको बराहक्षेत्रमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट १०४ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद भएको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब १ः५५ बजे चतराबाट नडाहा तर्फ आउँदै गरेको भारतमा दर्ता भएको BR31P6651 नम्बरको स्कारपियो जीप सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनाबारे सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। जाँचका क्रममा गाडीभित्र लुकाइछिपाइ राखिएको चारवटा प्लास्टिकको बोरामा १०४ किलो ८५५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा र स्कारपियो जीपलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको छ। दुर्घटनापछि चालक भने फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


