खोटाङको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला
खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत एक अनमी (अहेव) मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बझाङ घर भएकी २३ वर्षीया अनिशाकुमारी धामी स्थानीय मुना तामाङको घरमा डेरा गरी बस्दै आएकी थिइन्। उनी सोमबार आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट बन्द रहेको र आइतबार बिहानदेखि उनी बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर ढोका खोली हेर्दा धामी मृत अवस्थामा फेला परेको जनाएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।


