धनकुटामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
धनकुटा, असार २ । धनकुटामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार सोमबार बिहान करिब ७ः३० बजे धनकुटा नगरपालिका–४ स्कुलडाँडास्थित कोशी लोकमार्गमा धनकुटाबाट हिलेतर्फ जाँदै गरेको को १२ प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा को १२ प ८०९८ नम्बरको मोटरसाइकल चालक सुनसरीको रामधुनी नगरपालिका–९ झुम्का घर भई हाल धनकुटा नगरपालिका–७ सब्जीलाइन बस्दै आएका करिब ५५ वर्षीय विशाल चौधरी घाइते भएका थिए। साथै, अर्को मोटरसाइकल चालक धनकुटा नगरपालिका–१ हिलेका करिब ३२ वर्षीय श्याम तामाङ पनि घाइते भएका छन्।
दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः०५ बजे विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
गम्भीर घाइते श्याम तामाङलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


