छतबाट खसेर एक जनाको मृत्यु
संजय मिश्रा/रौतहट, २ असार ।बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी ५० वर्षीय सोभालाल चौधरी रहेका छन्। प्रहरीका अनुसार सोमबार मध्यरातपछि चौधरी घरको छतमा पिसाब फेर्न गएका बेला अचानक लडेर गम्भीर घाइते भएका थिए।
राति करिब १ः३० बजे भएको उक्त घटनामा चौधरीको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि कोल्हवीस्थित तामागढी अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। तर उपचारकै क्रममा मंगलबार बिहान करिब ४ः४५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोल्हवीबाट असई कलम नारायण यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्युरो अस्पतालमा राखिएको छ भने घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


