कोशीमा जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी निरीक्षक न्यौपाने घोषित
विराटनगर,असार ०२ गते । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई जेठ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।
विभागीय मूल्य–मान्यता र निर्देशनअनुसार उच्च मनोबलसहित कर्तव्य निर्वाह गर्दै आएका निरीक्षक न्यौपानेले ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुधारमा उल्लेखनीय योगदान पुर्याएको आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुखका रूपमा कार्यरत रहँदा सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा परिचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागू औषध तथा मादक पदार्थ सेवन (LA.PA.SE./MA.PA.SE.) चेकजाँच, तथा नियम उल्लंघन गर्ने चालक–परिचालकहरूलाई कानुनी दायरामा ल्याउने कार्य प्रभावकारी रूपमा सञ्चालन गरेका थिए।
त्यसैगरी उनले सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन “सुरक्षित चालक” अभियानको सुरुवात गरेका थिए। कार्यालयमा आउने सेवाग्राहीका लागि प्रतिक्षालय निर्माण गर्नुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापन सुधार गर्न सरोकारवाला निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, नो पार्किङ बोर्ड, ट्राफिक कोन, व्यारिकेडर र रिफ्लेक्टिभ ज्याकेट जस्ता सामग्री प्रयोगमा ल्याई ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएका थिए।
यसैगरी समुदाय स्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै Gen-Z आन्दोलनका क्रममा क्षति भएका ट्राफिक लाइट र वार्निङ सोलार लाइट पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनको समग्र कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरीले उनलाई २०८३ साल जेठ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको हो।


