कोशीमा प्रतिबन्धित लागूऔषध सहित १३ जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत १३ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिँदै कानूनी दायरामा ल्याएको जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूको संयुक्त टोलीले ४७ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर, नगद ९ हजार रुपैयाँ र एक मोटरसाइकल बरामद गरेको छ।
प्रहरीका अनुसार झापाको बिर्तामोड–६ का तमिज आलमलाई ६२० मिलिग्राम, शिवसताक्षी–७ का सुरज ढकाललाई २० ग्राम ४१० मिलिग्राम, कन्काई नगरपालिका–९ का पवनकुमार चौधरीलाई १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
त्यस्तै, झापाको मेचीनगर–६ की ६० वर्षीया सिता राजवंशी र चितवनकी २४ वर्षीया सोनी खातीलाई पनि लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुनसरीतर्फ इटहरी–५ का राजेश चौधरी र इटहरी–७ का बिरेन्द्रकुमार चौधरीलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर र को २५ प ९३२५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको छ।
त्यसैगरी धरान–५ का अभिषेक बि.क. र संजिप बि.क.लाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँसहित पक्राउ गरिएको छ।
उर्लाबारी–१ का विकास राई र निसान सरदारलाई ५७० मिलिग्राम, कटहरी–५ का निरज रामलाई १ ग्राम ७० मिलिग्राम र बर्जु–५ का जितेन यादवलाई ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध कारोबारविरुद्ध निगरानी र नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।


