विराटनगरबाट खैरो हिरोइन सहित तीन जना पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट क्षेत्रमा लागू औषध दुर्व्यसनविरुद्ध सञ्चालन गरिएको “मेगा क्यान” (Mega Campaign Against Narcotics) तथा एक हप्ते लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार सरप्राइज चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुनसरीको इटहरी उपमहानगरपालिका–५ निवासी २७ वर्षीय ईश्वर राउतलाई शंकाका आधारमा जाँच गर्दा उनको साथबाट ४ ग्राम ४४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको थियो।
त्यसैगरी सोही दिन अपराह्न करिब ४ बजे मोरङको बेलबारी नगरपालिका–३ निवासी २६ वर्षीय सुमित राई र २५ वर्षीय आशिष मगरलाई जाँच गर्ने क्रममा सुमित राईको साथबाट ३ ग्राम ४४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


