कोशीमा लागू औषधविरुद्धको महाअभियान: ब्राउन सुगरसहित १२ जना पक्राउ
विराटनगर, असार ४ — कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट ४२ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, दुई वटा स्कुटर र एक वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर–१४ का २३ वर्षीय गोपाल मलाहालाई ३ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर–९ का २९ वर्षीय ईराज भट्टराई र सिन्धुलीका ३० वर्षीय धनबहादुर बस्नेतलाई १० ग्राम १४० मिलिग्राम ब्राउन सुगर तथा प्र.१–०१–०१३ प ९४८० नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर–१० का २४ वर्षीय शेख अरमान र २४ वर्षीय युवराज राजवंशीलाई ९१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
त्यसैगरी, लागू औषध दुर्व्यसनविरुद्धको मेगा क्यान (Mega CAN) अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT), लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले इटहरी–५ का २७ वर्षीय ईश्वर राउतलाई ४ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उक्त टोलीले बेलबारी–३ का सुमित राई (२६) र आशिष मगर (२५) लाई पनि ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT), जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले इटहरी–४ का बिशे चौधरी र भुप नारायण चौधरीलाई ७ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर तथा प्रदेश १–०२–०४७ प २०३४ नम्बरको स्कुटरसहित पक्राउ गरेको छ।
त्यस्तै, धरान–१६ का एलिन जंग राणा र धरान–११ का सन्देश लिम्बुलाई १२ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर तथा को ३० प ४५०९ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


