मोरङको बूढीगंगा स्थित तेल उद्योगमा आगलागी, २५ लाख रुपैयाँको क्षति
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे उद्योगको माथिल्लो तलामा आगलागी भएको हो। तेल प्लान्टमा अत्यधिक तापक्रमका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट तेल प्लान्टमा जडान गरिएका विभिन्न मेसिन, विद्युत् वायरिङ, इन्सुलेशन सामग्री तथा जस्तापाता लगायतका सामग्री जलेर नष्ट भएका छन्।
घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।


