पत्रकार बराइलीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिएको घटनाप्रति पत्रकार महासंघ धनकुटाको आपत्ति
धनकुटा, असार ५ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवं स्टेशन म्यानेजर गोपाल बराइली माथि सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै धनकुटा एफएम डटकममा असार ४ गते प्रकाशित समाचारको विषयलाई लिएर महालक्ष्मी नगरपालिका–७ आँडुङ निवासी पूर्ण काकीले पत्रकार बराइली तथा उनको परिवारलाई समेत जोडेर सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिएको जनाएको छ ।
विज्ञप्तिमा समाचारप्रति कुनै गुनासो वा असहमति भए कानुनी तथा संस्थागत प्रक्रिया मार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जाल प्रयोग गरी गालीगलौज, धम्की तथा मानसिक दबाब सिर्जना गर्नु उचित नभएको उल्लेख गरिएको छ।
महासंघले यस्ता गतिविधिले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरुत्साहित गर्ने भन्दै घटनाको भर्त्सना गरेको छ। साथै सामाजिक सञ्जालमार्फत गरिएका अमर्यादित तथा निन्दनीय गतिविधिको आवश्यक छानबिन गरी सम्बन्धित निकायबाट आवश्यक पहल र कारबाही गर्न ध्यानाकर्षण गराएको छ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरिबहादुर लम्जेलद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की, दबाब र अभद्र व्यवहार स्वीकार्य नहुने स्पष्ट पारिएको छ।



