अयोध्या राम मन्दिरको दान रकममा अनियमितता आशंका, शौच जाने बहानामा पैसा बाहिर लगिन्थ्यो
सञ्जय मिश्रा,सर्लाही। भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको दान तथा भेटीमा कथित अनियमितता भएको विषयमा विशेष अनुसन्धान टोली (एसआईटी) ले छानबिन गरिरहेको छ। यसैबीच दान रकम हिनामिना गर्न प्रयोग गरिएको भनिएको तरिकाबारे नयाँ विवरण सार्वजनिक भएपछि घटना थप चर्चामा आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दान रकम गणना गर्ने कर्मचारीहरूले रकम चोरी गर्न बाथरुमलाई माध्यम बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दान गन्ने कोठामा प्रवेश गर्दा र बाहिर निस्कँदा कर्मचारीहरूको कडा जाँच हुने व्यवस्था थियो। तर गणनाको क्रममा बाथरुम जानुपर्ने बहाना बनाएर बाहिर निस्कँदा भने उनीहरूको शरीर जाँच नगरिने गरिएको बताइएको छ।
स्रोतका अनुसार केही व्यक्तिले यही कमजोरीको फाइदा उठाउँदै दानको रकम बाथरुम क्षेत्रमा लुकाएर राख्ने र गणना प्रक्रिया सकिएपछि पुनः त्यहाँबाट निकाल्ने गरेको आशंका गरिएको छ। दान गणना कक्षबाट करिब ५० मिटर टाढा रहेको शौचालय यस कार्यका लागि प्रयोग हुने गरेको बताइएको छ।
यस्तै, दानपात्रमा भक्तजनले सिधै राख्ने सुनचाँदी तथा बहुमूल्य वस्तुहरूको अभिलेख व्यवस्थापन पनि पर्याप्त व्यवस्थित नरहेको कारण केही सामग्रीमा हेरफेर भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई यस विषयको जानकारी पहिले नै प्राप्त भएको भए पनि प्रमाण संकलनको प्रक्रिया जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे पहिलोपटक प्रतिक्रिया दिँदै सत्यतथ्य बाहिर ल्याउन एसआईटी गठन गरिएको बताएका छन्। अयोध्या भ्रमणका क्रममा उनले छानबिनले “दूधको दूध र पानीको पानी” गर्ने विश्वास व्यक्त गर्दै दोषी जोसुकै भए पनि कारबाही हुने बताएका छन्।
राम मन्दिर भारत , नेपाल संगै संसारभरि रहेका हिन्दूहरुको आस्थाको प्रमुख केन्द्रमध्ये एक भएकाले यहाँको दान व्यवस्थापनमा उठेका प्रश्नहरूले व्यापक चासो र संवेदनशीलता पैदा गरेको छ। यदि अनुसन्धानबाट दान रकम वा बहुमूल्य चढावामा अनियमितता पुष्टि भएमा यसले मन्दिर व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न खडा गर्नेछ। यद्यपि हालसम्म सार्वजनिक भएका विवरणहरू प्रारम्भिक सूचना र स्रोतको दाबीमा आधारित भएकाले अन्तिम निष्कर्ष एसआईटीको प्रतिवेदनपछि मात्र स्पष्ट हुनेछ।


