मोरङमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
मोरङ, असार ६ । मोरङको रतुवामाई नगरपालिकामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन्। उनी नेपाल विद्युत प्राधिकरणको रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत कर्मचारी थिए।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १:२० बजे रतुवामाई–१ हटिया डाँडास्थित विद्युत पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला अचानक करेन्ट लागेर मण्डल गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दिउँसो करिब २:३० बजे मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मण्डलको शव हाल रंगेली अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।


