सुनसरीको इटहरीबाट सासू–बुहारी नै २१.५० ग्राम ब्राउन सुगर सहित पक्राउ
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट सासू–बुहारी ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदार रहेका छन्। उनीहरूलाई २१.५० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार खातुनको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले घरमा छापा मारेको थियो। जाँच तथा खानतलासीका क्रममा खातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखिएको अवस्थामा २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका सासू–बुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


