ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २४ जना घाइते
काठमाडौ । बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा शनिबार बिहान बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।
आज बिहान करिब ७:१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको यात्रुवाहक बस अचानक ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाइरहेका थिए। दुर्घटनापछि अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।
दुर्घटनामा घाइते भएका २४ जनामध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने एक जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा, अछाम रेफर गरिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


