पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित
सङ्खुवासभा । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार आएको पहिरोले सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्माको चार सदस्यीय परिवार र शान्तिराम पोखरेलको चार सदस्यीय परिवार विस्थापित भएका छन्।
यस्तै, पहिरोको उच्च जोखिमका कारण खाँदबारी नगरपालिका–६ खानीडाँडाका यारबहादुर तामाङको ६ सदस्यीय परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोले विश्वकर्माको दुईतले घरको पछाडिको भाग भत्काएको छ भने शान्तिराम पोखरेलको घरसमेत जोखिममा परेको छ। थप पहिरो जान सक्ने सम्भावना रहेकाले स्थानीय तहसँग समन्वय गरी दुवै परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।
हाल पहिरोबाट विस्थापित परिवारहरू छिमेकीको शरणमा बसिरहेका छन्। पहिरोका कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिनसमेत पुरिएको प्रहरीले जनाएको छ।
धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी गरिएको खेत पहिरोले कटान तथा पुरिएको छ। धुपु प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेको छ।


