सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरी वरिष्ठ सईको मृत्यु
सुनसरी । सुनसरीमा कार–मोटरसाइकल ठक्कर हुँदा प्रहरी वरिष्ठ सईको मृत्यु भएको छ भने उनकी पत्नी घाइते भएकी छन्।
सुनसरीको बर्जु गाउँपालिका–६ नहर चोक नजिक विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको डाक्टरले चलाएको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई मध्यान्ह करिब १२ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट मोटरसाइकलमा सवार सप्तरी घर भएका प्रहरी वरिष्ठ सई ५० वर्षीय लालकुमार यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिए पनि अपरान्ह करिब ४ बजे मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् र उनको उपचार जारी छ।
प्रहरीले कार चालक मोरङ कटहरी गाउँपालिका–३ का ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ। उनी चिमडी बजारमा एक्स–रे सेवा दिन जाँदै गर्दा दुर्घटना भएको बताइएको छ।


