ताप्लेजुङमा नगद र सुनका गहना चोरी गर्ने युवक पक्राउ
ताप्लेजुङ, असार १० । ताप्लेजुङमा नगद र सुनका गहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टा संखर यादवका अनुसार खड्काले सोही गाउँपालिका–३ का ७५ वर्षीय मानबहादुर काङवा लिम्बुको घरबाट नगद १ लाख २३ हजार ५ सय रुपैयाँ तथा १० आना सुनको ढुङ्ग्री चोरी गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिरिजङ्गा गाउँपालिका–२ खाम्दिम्बेबाट खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेका खड्काको साथबाट चोरी भएको नगदमध्ये ५८ हजार ४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका खड्काविरुद्ध चोरी मुद्दामा अनुसन्धान अघि बढाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


