उदयपुरबाट जुवा खेलिरहेको अवस्थामा ४ जना पक्राउ, नगद ५२ हजार सहित कौडा बरामद
उदयपुर । उदयपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ करिब ५ बजे त्रियुगा नगरपालिका–४ डाँडा टोलस्थित ईश्वर कार्कीको गोठघरमा छापा मारेर जुवा खेलिरहेका चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ का करिब ५० वर्षीय तिलक बुढाथोकी, वडा नं. ११ का ३९ वर्षीय भवननाथ सिग्देल, ४० वर्षीय प्रबिन राई तथा वडा नं. ९ का ४३ वर्षीय दिपक बराल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको १६ वटा कौडा, नगद ५२ हजार ६ सय रुपैयाँ, पाँच थान मोबाइल र चार थान मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


