इनरुवाबाट लागूऔषध ब्राउन सुगर र मोटरसाइकल सहित दुई जना पक्राउ
इनरुवा, १० असार । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध ब्राउन सुगरसहित दुई जना व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको छ।
आज दिउँसो १३:३० बजे रामधुनी नगरपालिका–५ लगुना चोकस्थित इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको चेकिङ टोलीले जाँच गर्ने क्रममा उक्त नियन्त्रण गरिएको हो।
पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति प्रहरी चेकिङ देखेपछि मोटरसाइकल छाडेर भागेका थिए। पछ्याउने क्रममा उनीहरूले चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला परेको प्रहरीले जनाएको छ।
उक्त पोकाभित्र प्लास्टिकका स–साना प्याकेटमा राखिएको अवस्थामा १.७० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो।
मोटरसाइकल चालक रामधुनी नगरपालिका–७ बस्ने २७ वर्षीय शिशिर गुरागाईँ र पछाडि सवार सोही नगरपालिका–५ बस्ने २५ वर्षीय बिमल लम्साललाई लागूऔषध, मोटरसाइकल र डिजिटल तराजुसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


