प्रतिबन्धित लागू औषध सहित कोशीमा १९ जना पक्राउ, ६२ किलो गाँजा र ४४ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद
विराटनगर, असार ११ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि, सवारी साधन तथा नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १ हजार २६६ क्याप्सुल, चार वटा मोटरसाइकल, दुई वटा अटो तथा नगद १३ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको छ।
झापामा गरिएको चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका–५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, नगद १३ हजार २ सय ६० रुपैयाँ र टेम्पोसहित पक्राउ गरेको छ।
यस्तै, प्रहरी चौकी टाघनडुब्बाको टोलीले कमल गाउँपालिका–७ का सनम धिमाल, कमल–६ का प्रदीप दास तथा हल्दिबारी गाउँपालिका–३ का १५ वर्षीय प्रितम तामाङलाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले इलाम सूर्योदय नगरपालिका–११ का रनधिर प्रधानलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने बिर्तामोड–३ का सुनिल पासवान र उदय पासवानलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
मोरङमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१७ का अरमान मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, लेटाङ नगरपालिका–३ का मनकुमार मगर र हर्कबहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुनसरीमा इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका–७ का शिशिर गुरागाई र इटहरी उपमहानगरपालिका–१६ बस्ने बिमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र मोटरसाइकलसहित पक्राउ गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–१ का राजन राई, सुमन राई, अभिषेक भुजेल, सन्देश राई, बेलका नगरपालिका–४ का रबिन राई तथा आयुषा राईलाई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट दुई वटा मोटरसाइकल र एउटा अटो पनि बरामद गरिएको छ।
यसैबीच, प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका–११ स्थित एक स्थानमा बेवारिसे अवस्थामा राखिएको ६२ किलोग्राम गाँजा बरामद गरेको छ।
उता, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान–९ मा डेरा गरी बस्दै आएका फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १ हजार २६६ क्याप्सुलसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबैविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


