सप्तकोशीमा हाम फालेका धरानका पुरुष मृत फेला
सुनसरी । उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित उदयपुर–सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठले बुधबार बिहान करिब ८ बजे पुलमाथि साइकल, चप्पल र मोबाइल फोन छाडेर सप्तकोशी नदीमा हाम फालेको सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपुर तथा नेपाल प्रहरीका विभिन्न इकाइबाट संयुक्त टोली परिचालन गरिएको थियो।
रबर डुंगासहित खटिएको २४ सदस्यीय संयुक्त टोलीले बिहानदेखि कोशी पुल, कोशी कटान, बोराबाँध तथा सिसौलीघाट आसपासका क्षेत्रमा व्यापक खोजी अभियान सञ्चालन गरेको थियो।
खोजीका क्रममा साँझ करिब ६ बजे घटनास्थलबाट करिब १० किलोमिटर दक्षिणतर्फ पर्ने बेलका–८ सिसौलीघाट पारिको कोशी नदीको बीच भागमा शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


