सुनसरीमा १८ हजार ट्रामाडोल क्याप्सुलसहित मोटरसाइकल बरामद, चालक फरार
सुनसरी । देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोला क्षेत्रको भित्री सडक खण्डमा ठूलो मात्रामा लागू औषध फेला परेको छ।
आज दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको चेकिङ टोलीले घुस्कीबाट देवानगञ्जतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्न खोज्दा चालकले प्रहरी देखेपछि मोटरसाइकल र पछाडि बाँधिएको बोरा छाडेर फरार भएका थिए।
प्रहरीले को. २२ प. २८१७ नम्बरको मोटरसाइकलको पछाडि रहेको बोरा खोलेर जाँच गर्दा भित्र ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार क्याप्सुल फेला परेको जनाएको छ।
बरामद लागू औषध र मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखिएको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


