दुर्घटनापछि भाग्दै गरेको बोलेरो पिकअपले पैदल यात्रीलाई ठक्कर दिंदा १ जनाको मृत्यु,४ घाइते
सिरहा । सिराहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको ईभी कार अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएको थियो। त्यसपछि कार सडक छेउको नालामा खसेको जनाइएको छ। दुर्घटनापछि कारका चालकले बोलाएको प्र.२–०४–००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअप गाडीमा भाग्ने क्रममा एक व्यक्ति गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये जिल्ला सिराहा, मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुरको उपचारका क्रममा जिल्ला सप्तरीस्थित हमेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका बोलेरो चालक मिर्चैया नगरपालिका–८ निवासी २३ वर्षीय चन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि राखिएको छ।
घाइतेहरू:
१. सिराहा, मिर्चैया–८ भगवतपुर बस्ने ३९ वर्षीय रामपुकार ठाकुर
२. सोही स्थानका रामबचन यादवका १० वर्षीय छोरा
३. सोही स्थानका ६ वर्षीय सुमन शर्मा
४. सिराहा, मिर्चैया–६ की ३२ वर्षीया सुभली कुमारी यादव


